नेपाल र युएईको बाँकी फाइनल खेल आज

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । सोमबार वर्षाले बिथोलेको खेल मंगलबार ‘रिजर्भ डे’मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। मंगलबार सोमबारकै स्थितिबाट खेल सुरु हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङमा आएको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा बिहान ११ बजेर ५० मिनेट जाँदा खेल रोकियो ।

दिउँसो साढे ३ बजेसम्म पनि वर्षा नरोएिकपछि सिंगापुरका म्याच रेफ्री सारिका प्रसादले बाँकी खेल मंगलबार हुने घोषणा गका हुन् ।

९ विकेटको क्षतिमा १ सय ६ रनको अवस्थाबाटै मंगलबार युएईले आफ्नो बाँकी ब्याटिङ गर्नेछ ।

मंगलबार पनि वर्षाले खेलको निर्णय आउन सकेन भने खेल सुपर ओभरमा पुग्नसक्छ । त्यहाँबाट पनि परिणाम सम्भव नभए आईसीसीको एक दिवसिय वरियतामा युएईभन्दा माथि रहेको कारण नेपाल विजेता बन्नेछ ।

मंगलबार विजयी हुने टोलीले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउने भएकोले दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ ।

यो खेलबाट छानिने टोलीले एसिया कपको भारत र पाकिस्तान सम्मिलित समुहमा प्रतिस्पर्धा गर्न पाउनेछ ।एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र एसीसी प्रिमियर कप विजेता समूह ‘ए’मा छन्। यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्। एसिया कप आगामी सेप्टेम्बरमा हुँदैछ।