श्रीमती सत्तामा, श्रीमानलाई जन्मकैद नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्न सक्छ ?

काठमाडौं । कैलाली घटनामा मुख्य अभियुक्त भएको भन्दै उच्च अदालत दिपायलले जेल पठाउने निर्णय गरेसँगै जीवन विताईरहेको नागरिक उन्मूक्ति पार्टीका नेता रेशम लाल चौधरीलाई सर्वोच्च अदालतले उच्च अदालतकै निर्णय सदर गरेपछि अहिले राजनीतिमा बेग्लै खालको तरङ्ग आएको छ । टीकापुर काण्डमा चौधरी निर्दोष भएकाले जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायल फैसला कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले सदर गरिदिएपछि वर्तमान सरकारको एक हिस्सेदारका रुपमा रहेको नागरिक उन्मूक्ति पार्टीले सरकारलाई समर्थन गरिरहन्छ वा समर्थन फिर्ता लिएर सरकार ढाल्ने खेलमा जान्छ त्यो भने हेर्न वाँकी छ ।

जेलमा रहेका चौधरीकी श्रीमती वर्तमान सरकारमा भूमि व्यवस्था मन्त्री छिन् । रेशमलाई छुटाउनका लागि मन्त्रीपरिषद्बाट नै केही निर्णय गर्न सकिन्छ भन्ने श्रीमती चौधरीका आशाको बाटो वन्द भएपछि अहिले चौधरीको रिहाईको माग गदै उनको पार्टीले आन्दोलनको घोषणा गरिसकेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाउपाले यही जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ भने त्यसअघि पाँच गतेसम्म विभिन्न स्थानमा कोणसभा र विरोध प्रदर्शन गर्ने जनाएको छ ।

टीकापुर घटनाबारे गरिएको अध्ययन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत नाउपाको मुख्य माग रहेको छ । यसरी सत्तामै रहेको दलले आन्दोलनको घोषणा गरिरहँदा आमजनताको चासो अब नाउपाले सत्ता गठबन्धनसँग कस्तो सम्बन्ध राख्ला भन्नेमा छ ।

त्यसैकारण अब नाउपा सत्ता गठबन्धनबाट बाहिरिन्छ भन्ने आकलन जनमानसमा बढेको छ । यद्दपि, सत्ता गठबन्धनबाट बाहिरिने वा के गर्ने यसबारे नाउपाले औपचारिक धारणा बनाइसकेको छैन । तर, फैसला पश्चात प्रारम्भिक कदम स्वरुप आन्दोलनको घोषणा गरेको नाउपाले टीकापूर घटनालाई राजनीतिक रुपमा नहेरिए यसको सशक्त प्रतिवाद गर्ने बताउँदै आएको छ ।