शेयर बजार लगातार उकालो तर्फ

काठमाण्डौ । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो दुई अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।