विराटनगर आइपुग्यो कार्गो रेल

काठमाडौं । भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।

नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका थिए ।

विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको सो मालवाहक रेलमा केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरिएको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको एकीकृत जाँच चौकीसम्म सञ्चालनमा रहेको रेललाई माल सामान ढुवानीका लागि खुला गरेर सहजीकरण गर्न अनुरोध गर्दै आएका थिए ।

भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । सो रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ ।

बिहीबार उद्घाटन भएपछि सो रेलमार्ग नियमित रुपमा सञ्चालन हुनेछ । यात्रुवाहक रेल भने शीघ्र सञ्चालनमा ल्याउने तयारी छ । यात्रुवाहक रेलका लागि भने कटहरीसम्म रेलमार्ग निर्माण हुनुपर्नेछ । त्यसका लागि पनि आवश्यक तयारी भइरहेको छ ।