फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने सम्झौता

फाईल तस्बिर

काठमाडौ । फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिने सम्झौता भएको छ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको कार्यक्रममा नेपालका तर्फबाट विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक सूर्यप्रसाद रिजाल र भारतका तर्फबाट एनएचपिसीका सिएमडी आरके विष्नोले सम्झौता गरेका हुन्।

गत चैतमै ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना विद्युत उत्पादन कम्पनी र भारतीय कम्पनी एनएचपिसी लिमिटेडको संयुक्त लगानीमा निर्माण गर्ने निर्णय भएको थियो।

अर्ध जलाशययुक्त (पिआरओआर) उक्त आयोजनामा ५१ प्रतिशत एनएचपिसीले लगानी गर्ने र ४९ प्रतिशत विद्युत उत्पादन कम्पनीको लगानी हुने गरी कम्पनीको सञ्चालक समिति बैठकले निर्णय गरेको थियो।

बोर्डले यसअघि पनि पटक–पटक यो निर्णय गर्दै आएको थियो। तर मन्त्रीपरिषद्बाट स्वीकृत भएको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणका अवसरमा यो सम्झौता गरिएको हो।

एनएचपिसीले गत वर्ष २०२१ को डिसेम्बरमा नै फुकोट कर्णालीमा लगानी गर्न प्रस्ताव गरेको थियो। एनएचपिसीसँग जोइन भेन्चर लगानी सम्झौता भएको हो।

कर्णाली नदीमा पहिचान भएको फुकोट कर्णाली आयोजनामा ९२ अर्ब तीन करोड लागत लाग्ने यसको सम्भाव्यता अध्ययनमा उल्लेख छ। निर्माण सुरू भएको पाँच वर्षभित्र सक्ने उल्लेख छ।