राजतन्त्र यो देशमा फर्किनेवाला छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब राजतन्त्र यो देशमा कुनै हालतमा नफर्किने बताएका छन् । आज एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्ने अभियान सुरु भएको खनालले दाबी गरे । उनले देशमा नयाँ मण्डलेहरु जन्माउन खोजिएको बताए । यदि राजनीति दलहरुविरुद्ध गुण्डागर्दी नरोकेमा पूर्वराजालाई देशभर कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी खनालले दिए ।

उनको सम्बोधनको एक अंश

अहिले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्न अभियान नै सुरु भएको छ । उनीहरुका विभिन्न कार्यक्रमलाई विथोल्ने क्रियाकलाप हुन थालेका छन् । आजको कार्यक्रममा आउँदा पनि सोच्दै थिएँ । कतै यहाँ मण्डले गुण्डाहरु त प्रवेश गर्ने होइनन् भनेर ।
हिजो पनि म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरु भेला हुँदैछन् भनिएको थियो । म जाँदा कार्यक्रमको रुप अलि भिन्दै रहेछ । भिन्दै ढंगले सञ्चालन गर्ने कोसिस गरियो, जुन कुरासँग म सहमत छैन । तर, जेसुकै भए पनि कार्यक्रममा केही मान्छेहरुले बोल्न मागे, बोल्न दिइयो । बोल्ने क्रममा तथानाम गाली गरे । मैले यस्तो बोलियो भनेर भन्न पनि नमिल्ने छारस्ट कुराहरु भए । सबै पार्टीको विरुद्ध, नेताका विरुद्ध, विशेषगरी मेराविरुद्ध । मलाई विभिन्न आरोप लगाए । यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ । त्यो ग्याङले नारा लगाउन थाल्यो । विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरु लगाइयो ।

हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरुका विरुद्ध त्यतिबेलाका मण्डलेहरु आक्रमण गर्थे । तिनै मण्डलेहरु ब्युँताउन कोसिस भएको छ । ज्ञानेन्द्र राजा जिन्दावाद भन्छन् एकातिर, अर्कोतिर लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध तथानाम गर्छन् । मैले केही दिनअघि राजा ज्ञानेन्द्रलाई, अहिले त राजा भन्न मिलेन, भूतपूर्व राजा ज्ञानेन्द्र, अहिलेको ज्ञानेन्द्र शाहलाई, जो अहिले विभिन्न क्षेत्रमा अनेक राजनीतिक गतिविधि गर्दैछन्, यसप्रकारले समाजमा भाँडभैलो मच्चाउन कोसिस गर्नुभन्दा राप्रपा भन्ने पार्टी छ, त्यसको अध्यक्ष बनेर वा अर्को पार्टी खोलेर आए हुन्छ भनेको हुँ । हामी तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छौं ।

गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स-साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ ।

नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखेको छ भने त्यो दिउँसै आकाशतिर हेरेको दिवास्वप्नबाहेक केही होइन । तपाईंलाई थाहा हुनुपर्छ । एकपटक जन्मिसकेको बालक फेरि गर्भमा पस्न सक्दैन । यो लोकतन्त्र आफैं फर्पेक्ट छैन । तर, यो समाप्त हुनेवाला छैन । उन्मूलन भएको राजतन्त्र नेपाल धर्तीमा फर्किनेवाला छैन ।

अब राजा भन्ने शब्द केही मान्छेको नाममा सीमित हुनेछ । जस्तो राजा शाक्य । मेरै टोलमा हुनुहुन्छ । तर, राजतन्त्र यो देशमा फर्किनेवाला छैन । मन्दिर मन्दिर नगए पनि हुन्छ । अभिनन्दन नखाए पनि हुन्छ । केही काम छैन । राप्रपालाई दुई चार भोट बढाइदिनु छ भने बढाइदिनु । तर, विभिन्न ढंगका हर्कत गरेर लोकतन्त्रमा प्रश्न उठाउने कुनै कुरा जनताले सहँदैन ।