प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सोमबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

सभामुखसँग सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री दाहालले संसद्‌मा सम्बोधन गर्ने जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । ‘सभामुखसँगको संवादमा प्रधानमन्त्री दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै सोमबारको संसद् बैठकमा आफूले सम्बोधन गर्ने बताउनुभएको थियो,’ अधिकारीले भने ।

प्रधानमन्त्री दाहालले संसद्को अवरोधको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने बताएको सभामुखको सचिवालयले जानकारी दिएको छ । ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षीदलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई भनेका थिए ।

आइतबारदेखि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूको अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए । सभामुख घिमिरेले ठूला राजनीतिक दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका छन् ।

सभामुखले प्रधानमन्त्री दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेको र बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलहरूसँग संवादगर्न आग्रह गरेको अधिकारीले जानकारी दिए ।

‘प्रतिनिधिसभामा अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गर्नुभएको थियो । सभामुखले आइतबार साँझ नै फेरि सदनको अवरोध हटाउन सरकारको तर्फबाट पहल गर्न आग्रह गर्नुभएको थियो,’ अधिकारीले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ, समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन भन्ने कुरा सभामुखले प्रधानमन्त्रीलाई भन्नुभएको थियो ।’

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षीदलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेको अधिकारीले जानकारी दिए ।

संसद्को आइतबारको बैठकमा एमाले, रास्वपा र राप्रपाले भारत भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयलगायतबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी दिनुपर्ने माग गर्दै संसद् अवरोध गरेका थिए ।