नागरिकता विधेयक मैले भारत जाने दिन प्रमाणीकरण गरिदिनुहोस् भनेको होइन : प्रधानमन्त्री दाहाल

फाईल तस्बिर

बाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जाने दिन नै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यहि दिन नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोगमा मात्रै भएको जिकिर गरेका छन्। “नागरिकता सम्बन्धी विधेयक मैले भारत जाने दिन प्रमाणीकरण गरिदिनुहोस् भनेको होइन,” दाहालले भने।

बरु आफूले संघीय संसद्को बजेट अधिवेशन शुरू हुने दिन प्रमाणीकरण गर्न उपयुक्त हुने सुझाव दिएको उनको भनाइ थियो। “मैले त संघीय संसद्को बजेट अधिवेशन शुरू हुने दिन वैशाख २४ गते प्रमाणीकरण गर्न उचित हुन्छ भनेको थिए,” प्रधानमन्त्री दाहालले भने।

तर, राष्ट्रपति रामचन्द्र पौडेलले आफूले पनि कानूनी विषयमा छलफल गर्नुपर्ने भएकाले त्यतिवेला प्रमाणीकरण नगरेको उनको भनाइ थियो।

“मैले संविधानविद्, कानूनविद्, नेपाल बार एसोसिएशन, पूर्व महान्यायाधिवक्ता लगायतसँग छलफल गरेको थिएँ, सबैको सुझाव राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिँदा उचित हुन्छ भन्ने थियो,” दाहालले भने, “सबैको सुझावपछि प्रमाणीकरणका लागि अनुरोध गरेको हो, सिफारिश गरेको होइन।”

राष्ट्रपतिले पनि कानूनी विषयमा सरसल्लाह गरेर प्रमाणीकरण गरेको दाहालको भनाइ थियो। यसमा संयोगले भारत भ्रमणमा जाने दिने परेको दाहालले बताए।