कानुन मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु, सिंहलाई थप उपचारका लागि लगियो नेपालगञ्ज

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी मंगलबार बझाङमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंह, चालक धर्मराज जोशी र पीएसओ दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । त्यस्तै सोही दुर्घटनामा परी मन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको छ ।

कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका-१, देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेकोमा थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ ।