नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा नेपाललाई पहिलो झट्का, आसिफ शून्यमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमाएको छ।

तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२ : ४५ बजे सुरु भएको खेलमा नेपाली ओपनर आसिफ शेख दुई बल खेलेर डक भए। उनी पभिलियन फर्केसँगै भीम सार्की क्रिजमा उत्रिएका छन्।

नेपालले ३ ओभरमा एक विकेट गुमाएर आठ रन बनाएको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर फिल्डिङ रोजेका थिए।

पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ।

आजको खेलको विजेताले समूह एबाट सुपर सिक्समा पुग्ने एक टिमको टुङ्गो लगाउने छ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको प्लेयिङ ११ ः कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी।