मेयर बालेनले लगाए काठमाडौं महानगरभित्र साउन १ गतेदेखि प्लाष्टिक प्रतिवन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रयोग गर्न निषेध गर्ने भएको छ ।मानव स्वास्थ्य तथा पर्यावरणका हिसाबले समेत हानिकारक मानिएको प्लास्टिक प्रयोगमा महानगरले रोक लगाउने भएको हो । प्लास्टिकको प्रयोग वातारवणका साथै मानव स्वास्थ्यका लागि समेत हानीकारक भएकाले यसको प्रयोग पूर्ण हटाउनु पर्ने आवाज उत्तिकै बलिया बन्दै गएको छ ।

कुनै पनि समान राख्न वा लैजानका लागि किन नहोस् प्लास्टिकको प्रयोग पछिल्लो समय लोकप्रिय बनेको छ । अझं अहिले हरेक वस्तु प्लास्टिकमा प्याक भएर आउने गरेका छन् ।

यस्तै, तरकारी किन्न देखि होस् वा अन्य कुनै सामाग्री एक स्थानबाट अन्य स्थानमा लैजान नै किन नहोस् प्लास्टिकका झोलाको प्रयोग निकै हुने गरेको छ ।

जसको प्रयोगले हाम्रो जनजीवन सहज पनि बनाइदिएको छ । तर यहि सहजताका रुपमा प्रयोग गर्ने प्लास्टिकले पर्यावरणलाई कुरुप बनाएको भने मानव जीवनलाई समेत निकै छोटो बनाउँदै लगेको छ ।

एकपटक प्रयोग गरेर फ्याँकिने प्लास्टिकबाट बनेका सामानहरुको प्रयोग अझ बढी हानिकारक छ । यस्ता समाग्रीको प्रयोगले सामान्य स्वास्थ्य समस्या देखि क्यानसर जस्तो घातक रोगको जोखिम समेत उच्च बनाएको छ ।

प्लास्टिकको प्रयोग हानीकारक हुने भएकाले संसारका ४० भन्दा बढी देशहरुमा प्लास्टिकलाई निषेध गरिसकेका छन् ।

नेपालमा पनि २ वर्ष अगाडी सरकारले ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर उक्त प्रतिवन्ध व्यवहारमा लागू हुन सकेको छैन ।

विभिन्न मार्टहरुमा प्लास्टिका झोलाको प्रयोग कम देखिए पनि अन्य स्थानमा भने यस्ता झोलाहरुको प्रयोगमा कमी हुन सकेको छैन । तर पछिल्लो समय पुनः काठमाडौ महानगरले महानगर भित्र ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला साउन १ गतेबाट रोक लगाउने भएको छ ।

महानगरको यस कदम प्रति सर्वसाधारणको सकारात्मक धारणा देखिन्छ । तर यसका लागि उचित विकल्प सहित रोक लगाउन आवश्यक भएको सर्वसाधारणहरु बताउँछन् ।

संसारभर हरेक वर्ष ३० करोड टन भन्दा बढि प्लास्टिकको मात्र फोहोर उत्पन्न हुन्छ । जुन विश्वभरको जनसंख्या बराबर नै हो ।

प्लास्टिकमा अस्थिर प्रकृतिको जैविक कार्वनिक एस्सटर समावेश हुन्छ, जसको कारण क्यान्सर जस्तो भयानक रोग लाग्न सक्छ । साथै प्लास्टिकलाई रंगिन बनाउनका लागि क्याडमियम जस्तो विषालु धातुहरु समेत मिलाइएका हुन्छन् ।

जुन निकै हानीकारक हुने मानिन्छ । मानव स्वास्थ्यलाई गम्भीर प्रभाव पार्ने प्लास्टिकको प्रयोगमा रोक लगाउने का सकारात्मक भएपनि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयले थप प्रष्टता दिनेछ ।