भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको र तथ्य एवं प्रमाणका आधारमा थप कारवाही अगाडि बढ्ने बताएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा मन्त्रालयले ठोस पहलकदमी लिएका कारण केही पात्र जेलमा पुगिसकेको उनले बताए ।

विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको छलफलमा उठेका प्रश्नको आइतवार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री श्रेष्ठले अनुसन्धान प्रक्रिया चलिरहेकाले तथ्य र प्रमाणका आधारमा कारवाही अगाडि बढाउने बताएका हुन् ।

‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रूपमा पठाउने जुन प्रवृत्तिले काम गरिरहेको थियो, त्यसको अनुसन्धान गर्दै कानूनको दायरामा ल्याउने काम भएको छ । ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध र कीर्ते काम गर्ने यस प्रकारका गतिविधिलाई पूरै दण्डित गर्नका लागि ठोस पहलकदमी लिएको अवगतै छ,’ मन्त्री श्रेष्ठले भने, ‘केही पात्रलाई अभियोजन प्रक्रिया अगाडि बढेको छ । केही अनुसन्धानको प्रक्रिया अझै अगाडि बढिरहेको छ । तथ्य र प्रमाणका आधारमा थप काम कारवाही अगाडि बढ्ने प्रस्ट छ ।’

मन्त्री श्रेष्ठले सुराकी खर्चको नाममा गृहमन्त्री र सचिवले तजबिजमा लिने गरेको खर्च कटौती आफ्नै पालामा शुरू गरेको बताए ।

‘पञ्चायती व्यवस्थादेखि नै गृहमन्त्री या सचिवले सुराकी भत्ता लिने निर्णयलाई खारेज गरें, मन्त्रिपरिषद्मा प्रस्तावै लगेर नियमावली नै खारेज गरियो,’ मन्त्री श्रेष्ठले भने, ‘हिसाब केही देखाउनु नपर्ने अनि कुनै क्रस चेकको व्यवस्था विना नै यस प्रकारको पैसा लिने प्रक्रिया पूर्णतः खारेज गरिएको छ ।’

ताजा अपडेट