गुणस्तहीन निर्माण सामाग्री प्रयोग भएपछि विद्यालय भवनको निर्माण रोकियो

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन विद्यालय भवनको निर्माण रोकिएको छ । आधारभूत विद्यालय पदमीको भवन निर्माणको काम रोकिएको हो ।

भवन निर्माणका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि पुथा उत्तरगंगा गाउँपालिकाबाट गएको अनुगमन टोलीले काम रोकेको हो । गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको टोलीले प्राविधिक मूल्याङ्कनअनुसार काम नभएको पाएपछि काम रोक्न निर्देशन दिएको हो ।

उपाध्यक्ष भुपेन्द्रा बुढाले सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलेको, गिट्टी र बालुवाको गुणस्तर कम भएको, मूल्याङ्कनअनुसारको सरियाको प्रयोग नभएको पाएपछि काम रोकिएको बताए । उनले भवन निर्माणको काममा विद्युत् लाइनको पाइप नराखेको, भिजेको सिमेन्टको प्रयोग भएको लगायतका समस्या पत्ता लागेको बताए ।

अनुगमन कार्यक्रममा गाउँपालिकाका इन्जिनियर इन्द्रजित गामी, गाउँपालिकाका योजना शाखा प्रमुख ओमप्रकाश ओलीलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २७ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता भएको छ ।