पुनर्कर्जाका लागि प्रस्ताव माग, यस्ता व्यवसायीले पाउछन् ऋण ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि प्रस्ताव माग गरेको छ । केन्द्रीय बैंकले कार्यविधि तयार पारेपछि पहिलो पटक भदौ १ गतेदेखि पुनर्कर्जा उपलब्ध गराउन प्रस्ताव माग गरेको हो । सोमबार सूचना जारी गर्दै केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुष्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।

राष्ट्र बैंकले एकमुष्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव आह्वान गरेको हो । उक्त पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कोराना भाइरसबाट अति प्रभावित र मध्यम प्रभावितले पुनर्कर्जाका लागि आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनलाई आवेदन पेश गर्ने अन्तिम दिन मानिने छ । रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ । प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइने छ । पुनर्कर्जाको ब्याजदर कम्तिमा ३५ र बढीमा ५५ हुनेछ ।