कोशी प्रदेश : मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै आफूलाई मुख्यमन्त्रीमा नियुक्त गरिनुपर्ने भन्दै हिक्मत कार्कीले दिएको मुद्धाको प्रारभ्मिक सुनुवाई आजबाट हुँदैछ ।

निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कार्कीले थापा असंवैधानिक तवरले मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

हिक्मत कार्कीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कोशी प्रदेश प्रमुख परशुराम खापुङले उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सो रिटमाथि सर्वोच्चले आजदेखि प्रारम्भिक सुनुवाई थाल्ने भएको हो । कार्कीले दिएको रिटमा प्रदेशप्रमुख, मुख्यमन्त्री थापा र सभामुख बाबुराम गौतमलाई समेत विपक्षी बनाइएको छ ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको माग गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

मुख्यमन्त्री थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा बहुमत पुर्याउन सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर गराइएको थियो ।