प्रधानमन्त्री कप : आर्मीलाई पुलिसले हरायो

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ ।

चौथो खेलसम्म अपराजित आर्मीलाई आज सम्पन्न पाँचौ खेलमा पुलिसले ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । पुलिसले २५–२१, २८–२६, २५–१४ ले आर्मीलाई पराजित गरेको हो । यसका साथ पुलिसको ५ खेलबाट १२ अंक भएको छ । पुलिस अंक तालिकामा दोश्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलमा ११ अंक भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिग खेलको आजै सम्पन्न अर्को खेलमा पाचौं खेलमा पनि अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल अंक तालिकामा अग्र स्थानमा उक्लिएको छ । निकैनै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा टिपटपले एपिएफलाई ३–२ सेटमा पराजित गर्दै थप २ अंक जोड्न सफल भएको हो । हेल्प नेपालले पहिलो सेट २७–२५, २५–१७ ले जितेर खेललाई २–० का साथ आफ्नो पक्षमा पारेको थियो । तर एपिएफले तेश्रो र चौथो सेट २५–२१ २५–२३ ले जित्दैै खेललाई २ – २ को बरावरीमा ल्यायो । अन्तिम तथा निर्णायक पाँचौ सेटमा टिपटप हेल्प नेपालले एपिएफको म्याच प्वाईन्ट १४–११ को स्थितीलाई उल्टाउँदै १६–१४ अंकका साथ जित हात पा¥यो । यसका साथ टिपटपको पाँच खेलबाट १३ अंक भएको छ भने २ सेट जितेर १ अंक बटुलेको एपिएफको ११ अंक भएको छ । समान अंक भएता पनि अंक रेसियोका आधारमा एपिएफ आर्मी भन्दा पछाडी रहेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा भने आर्मी र एपिएफले जित हात पारे । आर्मीले एक पक्षिय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित गर्‍यो ।

महिला तर्फ पुलिस ४ खेलबाट १२ अंक, एपिएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा रहेका छन् । अंकका आधारमा पुलिस फाईनल प्रवेश गरेको छ।