पाकिस्तान ‘ए’ विरूद्ध नेपालको ब्याटिङ धरापमा

काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमविरूद्ध खेलिरहेको छ।

श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९.१ ओभरमा ६ विकेट गुमाएको छ।

दोस्रो ओभरमा कुशल भुर्तेल १ रनमा शाहनवाज दहानीबाट बोल्ड भए। चौथो ओभरमा आसिफ शेख १२ रनमा दहानीकै बलमा क्याच भए।

यस्तै कप्तान रोहित पौडेल ४ रन र भीम सार्की शून्यमा आउट भएका छन्। दुवैलाई मोहमद वासिमले आउट गरे। अर्जुन साउद आठौं ओभरको अन्तिम बलमा १७ रनमा क्याच भएका छन्। पवन सर्राफ पनि १ रन बनाएर आउट भएका छन्।

अहिले गुल्सन र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्। नेपालले ९.१ ओभरमा ६ विकेट गुमाउदा ३९ रन जोडेको छ।

श्रीलंकामा हिजोदेखि एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए