सरकारसँग विश्वप्रकाश शर्माका यी तीन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सरकारसँग तीन आग्रह गरेका छन्।

प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै शर्माले संसद बैठकको क्रममा सांसदहरूले राख्ने विषय र सभामुखले खेल्ने भूमिकाबारे प्रश्न गरे।

‘परम्पराकालदेखिका धेरै कुरा आए। सभामुखले सञ्चालन गर्दैगर्दा कमजोरी भयो कि, नियमावली हामीले बुझेनौं कि। यसमा रूलिङको अपेक्षा गर्छु,’ उनले भने।

दोस्रो, सहकारीको नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने उनको माग थियो। केही सहकारीका कारण संयौं सहकारी आलोचित भएको भन्दै शर्माले सहकारीकर्मी र पीडितसँग सरकारले संवाद गरेर समस्याको समाधान खोज्नुपर्ने बताए।

शर्माले पीडितको माग पूरा गरेर समस्याको समाधान गर्न पनि सरकारलाई आग्रह गरे।

तेस्रो, नेपाली श्रमिकको न्यूनतम ज्याला कार्यान्वयन बारे।

कांग्रेस महामन्त्री समेत रहेका शर्माले न्यूनतम ज्याला कार्यान्वयनका लागि रोजगारदाता र श्रमिकहरूका प्रतिनिधिबीच संवाद गर्न सरकारले आग्रह गरे।

‘भोलि साउन १ देखि तोकिनुपर्नेमा १५ हजार न्यूनतम ज्याला अभिवृद्धि गर्ने सम्बन्धमा सरकार, रोजगारदाता र श्रमिकहरूको प्रतिनिधिबीच संवाद गरेर टुंगोमा पुग्नुपर्नेमा सरकारले गरेको छैन,’ उनले भने।

‍शर्माले ज्याला कार्यान्वयनका सन्दर्भमा ट्रेड युनियन कंग्रेसले बानेश्वरमा गरेको प्रदर्शनबारे सरकारको ध्यानाकर्षण गराए।