कोरोना :भदौ अन्तिमदेखि समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सर्वेक्षण गरिने

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भदौ अन्तिमदेखि देशभर ‘सेरो सर्वेक्षण’ गर्ने भएको छ।

नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टीबडी परीक्षण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

समुदायमा कोरोना संक्रमण कस्तो थियो भनेर पत्ता लगाउन सेरो सर्वेक्षण गर्न लागिएको सेरो सर्वेक्षणका संयोजक रामकुमार महतोले जानकारी दिए।

उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्राविधिक सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको समन्वयमा देशभर एकैसाथ एन्टीबडी परीक्षण गर्ने तयारी भएको हो।

महतोका अनुसार भदौ ३१ गतेदेखि सातै प्रदेशबाट ३ हजार १४० नमुना संकलन गरिनेछ।

सेरो प्रिभिलेन्स सर्वेक्षण रगतबाट गरिने एउटा परीक्षण हो। समुदायमा कति मानिस संक्रमित बनेका थिए भनेर अध्ययन गर्न सेरो प्रिभिलेन्स सर्वेक्षण गरिन्छ। सेरो सर्वेले कोभिड–१९ को संक्रमण भएर पनि थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पत्ता लगाउँछ।

महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेका अनुसार तत्काल संक्रमणको अवस्था पत्ता लगाउन पीसीआर परीक्षण गरिन्छ भने समुदायमा कति मात्रामा संक्रमण फैलिएको थियो भन्ने बारेमा पत्ता लगाउन सेरो सर्वेक्षण गरिन्छ।

सेरो प्रिभिलेन्स सर्वेक्षणबाट थाहै नपाई निको भएका र लक्षण नदेखिएरै पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ। यसअघि समुदायमा संक्रमण फैलिएको छ वा छैन भनेर शंकास्पद क्षेत्रका मानिसहरुको पीसीआर परीक्षण गरिएको थियो।

सेरो सर्वे रगतबाट गरिने भएकाले संक्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमुना संकलन गर्छ।

सेरो प्रिभिलेन्स अध्ययनका लागि ६० जनालाई तालिम दिइसकिएको छ। प्राविधिक भने स्थानीय स्तरकालाई नै परिचालन गरिनेछ।
डा।पाण्डेले एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण हुने बताए।