आज यी प्रदेशमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले पूर्वका कोशी र मधेस प्रदेशका केहि ठाउँमा पानी परिरहेको छ ।

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा आज दिउँसो मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु केहि पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा पनि दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् शान्ती कंडेलले बताउनुभयो । उहाँका अनुसार लगातार वर्षा र झरीको सम्भावना छैन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ हुँदा भारतमा धेरै पानी पर्छ भने उत्तरतर्फ हुँदा नेपालमा पानी धेरै पर्छ । महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।