रास्वपासँग खराब हृदय भएका मानिसहरु फाल्न सक्ने तागत छ : रवि लामिछाने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सँग खराब हृदय भएका मानिसहरु फाल्न सक्ने तागत भएको बताएका छन् । रास्वपा सिन्धुली-काठमाडौं सम्पर्क विभागको कार्यक्रममा संम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

रास्वपामा अहिले जोडिनु भनेको उम्मेदवार बनिहाल्नु नभएको उनले बताए । उनले असल साथीहरुलाई पार्टीमा जोड्ने अभियानलाई मिसन २०८४ भनिएको समेत प्रष्ट पारे ।

लामिछानेले विभिन्न घटनाहरुलाई लिएर पार्टीप्रति औला उठाएको भन्दै इमान्दारीपूर्वक पार्टीमा सहभागी हुन आग्रह गरे ।

उनले भने, ‘ विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ । यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिस हो । मानिसहरुले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौं । त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरुबाट यस्ता किसिकमा क्रियाकलाप हुन सक्लान् । तर खबरदार हामीलाई जानकारी पाउने वितिकै घटनाको समाचार छापिनुअघि कारबाही भइसकेको हुनेछ । पार्टीलाई यसमा प्रष्ट निर्देशन छ । पार्टीसँग खराब हृदय भएका मानिसहरु फाल्न सक्ने तागत छ । पार्टीमा को आउनुहुन्छ को आउनुहुन्छ त्यो भन्न सक्दिन यो एउटा भेल हो । यहाँ धेरै मानिसहरु आउन सक्छन् र खराब पात्रहरु आउन सक्छन् असल पात्रहरु पनि आउन सक्छन् । हामीलाई २०८४ सालसम्म हेर यिनीहरुको यो पनि घटना त्यो पनि घटना त्यहाँ कुटाकुट भयो मारामार भयो भन्ने घटनाहरु ल्याएर उनीहरु उस्तै हुन भन्ने भाष्य सिर्जना गर्न खोजिदैछ । त्यसका लागि चनाखो हुनुपर्नेछ । ’