अर्थमन्त्री महत भन्छन् : अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख भएपनि नकारात्मक सोच्ने प्रवृत्ति देखियो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेपनि नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखिएको बताएका छन् ।

आन्तरिक राजस्व विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री महतले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार हुँदै सकारात्मक बाटोमा उन्मुख भएपनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका हुन् ।

उनले कोरोना महामारी र रुस–युक्रेन युद्धको असरपछि असर लगायतका कारण अर्थतन्त्र समस्यामा परेको भएपनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे ।

चालू आर्थिक वर्षका लागि सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न पनि अर्थमन्त्री महतले देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।

महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको दाबी गरे ।