मेसीको गोलसँगै मियामीको जित, गर्यो फाइनल प्रवेश

काठमाडौं । लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ। नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा मियामीले फिलाडोल्फिया युनियनलाई ४–१ गोल अन्तरले हरायो।

मियामीका लागि कप्तान मेसीसँगै जोसेफ मार्टिनेज, जोर्डी अल्बा र डेबिढ रुइजले गोल गरे। फिलाडोल्फियाका लागि १ मात्र गोल अलेजान्द्रो बेडोयाले गरे।

खेलको तेस्रो मिनेटबाटै मियामीले अग्रता बनाउन सुरु गरेको थियो। पाहुना टोली मियामीको लागि तेस्रो मिनेटमै मार्टिनेजले गोल गर्दै अग्रता बनाएका थिए।

त्यसपछि २०औँ मिनेटमा अर्को गोल गरेपछि मियामीले अग्रता दोब्बर बनायो। पहिलो हाफको अतिरिक्त समयमा अल्बाले गोल गरेपछि मियामीले ३–० को अग्रता बनाएको थियो।

७३औँ मिनेटमा अलेजान्द्रोले गोल गरेपछि खेल ३–१ को स्थितीमा आएको थियो। तर ८४ औं मिनेटमा रुइजले गोल गरेपछि मियामीले ४–१ को जित निकाल्दै फाइनल प्रवेश गर्‍यो।