त्रिवि सेवा आयोग अध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्।

त्रिवि इतिहास विभाग प्रमुख रहेका झापाका भट्टराईलाई प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका सहकुलपति अशोककुमार राई नेतृत्वको सिफारिस समितिले सेवा आयोग अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरेकोमा भट्टराईलाई नियुक्त गरिएको हो।

आफू सेवा आयोग अध्यक्ष पदमा मंगलबार नियुक्त भएको र बुधबार पदबहाली गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।

उनलाई तीन वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो। उनी एक वर्षदेखि त्रिवि इतिहास केन्द्रीय विभाग प्रमुख थिए।

२०४४ सालमा उनी त्रिवि सेवामा प्रवेश गरेका थिए। अवकाश हुन छ महिना बाँकी हुँदा भट्टराईलाई सेवा आयोग अध्यक्ष बनाइएको हो।

सरकारले एक वर्षपछि त्रिवि सेवा आयोग अध्यक्ष नियुक्त गरेको हो।