ललितानिवास प्रकरण : माधव र बाबुरामको बयान लिएर शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपितहरूलाई पक्रेर दोस्रो चरणको अनुसन्धान शुरू गरेको मंगलबार ५० दिन पुगेको छ। गएको असार १२ गते सीआईबीले ललिता निवास प्रकरणमा जोडिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायतलाई पक्राउ गरेको थियो।

पक्राउ परेकाहरूलाई र पक्राउ पर्न बाँकी सम्भावित सूचीमा रहेकालाई शुरूमा उसले साबिकको मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। तर ललिता निवासको सरकारी जग्गा संगठित रूपमै व्यक्तिको नाममा पुर्‍याउने कार्य भएको देखिएपछि सीआईबीले संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन असार १९ गते काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको थियो। त्यसपछि प्रहरीको अनुसन्धान संगठित अपराधमा केन्द्रित भएको थियो।

संगठित अपराधसम्बन्धी कसुरमा संलग्न व्यक्तिलाई पक्राउ परेको ६० दिनभित्र अदालतमा अभियोग–पत्र दायर गरिसक्नुपर्ने व्यवस्था छ। “५० दिन पुगिसक्यो, अभियोग–पत्र दायर गर्नुअघि सरकारी वकिलको कार्यालयलाई पनि प्रतिवेदन अध्ययन केही समय चाहिन्छ। त्यसकारण हामी शुक्रबारसम्म अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारीमा लागेका छौँ,” सीआईबी स्रोतले भन्यो, “कुनै कारणवश शुक्रबार हुन सकेन भने ढिलोमा आइतबारसम्म प्रतिवेदन बुझाउँछौँ।”

सीआईबीले यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको, अब दुई जना पूर्वप्रधानमन्त्री र तीन जना पूर्वमन्त्रीको बयान लिन बाँकी रहेको जनाएको छ। अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले दुई दिनभित्र पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमन्त्रीत्रय विजयकुमार गच्छदार, डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीको बयान लिइने, त्यसपछि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको बताए।