भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि चामल माग्दै नेपालले पठायो भारतलाई पत्र

काठमाडौं । केहि समयअघि भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक लाख मेट्रिकटन चामल र ५० हजार मेट्रिकटन धानको माग गर्दैै भारतलाई पत्र पठाएको छ ।

आउँदै गरेको दसैँ र तिहारमा हुन सक्ने खाद्यान्न अभाव र मूल्यवृद्धिलाई लक्षित गरी सरकारले खाद्यान्न आयात गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता राधिका अर्यालले परराष्ट्र मन्त्रालयमार्फत खाद्यान्न माग गर्दै पत्राचार गरेको जानकारी दिइन् । उनले भनिन्, ‘अघिल्लो हप्ताको मंगलबार पत्राचार गरेका हौँ, एक सातासम्म पनि कुनै जवाफ आएको छैन ।’

त्यस्तै, दसैं–तिहारलाई लक्षित गरेर ५० हजार मेट्रिकटन चिनी पनि ल्याउने मन्त्रालयको तयारी छ । अघिल्लो वर्ष चिनी उद्योगीबाटै कम चिनी उत्पादन भएको भन्दै व्यापारीले आगामी दिनमा चिनी अभाव र मूल्य बढ्न सक्ने बताएका थिए । गत वर्ष आयात गरेको ४० हजार मेट्रिकटन चिनी सकिएको र अब ५० हजार मेट्रिक टन ल्याउँदा पर्याप्त हुने उनको भनाइ छ । बजारमा चिनीको मौज्दात कम हुँदा व्यापारीले किलोमै १० रुपैयाँले मूल्य बढाएका छन् । त्यस्तै, भारतले समेत बासमती बाहेकको चामलमा प्रतिबन्ध लगाउँदा चामलको मूल्यमा बोरामै दुई सय रुपैयाँसम्मले बढेको थियो ।

भारतले चामल निर्यातमा रोक लगाएपछि साउन ४ र ६ गते मुख्यसचिव डा। वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकमा देशभरका गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए ।

सोहीअनुसार तत्काल चामल र धान ल्याउने तयारी थियो । गत जेठ मसान्तसम्म ३३ अर्ब ६३ करोडको धानचामल आयात भएको छ । त्यसभन्दा अघिल्लो आव ०७८र७९ मा ४७ अर्ब ५९ करोडको धानचामल आयात भएको थियो । हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कम्पनीमा १७ हजार क्विन्टल मात्रै चामल रहेको कम्पनीले जनाएको छ ।