२०८४ को निर्वाचनमा हामीलाई भोट दिनु, हामीले केहि गर्न सकेनौं भने आफ्नो ठाउँलाई घन्टी निषेधित घोषणा गरिदिनुहोला : रवि लामिछानेले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने निर्वाचनमा आफ्नो पार्टिलाई भोट दिन आग्रह गरेका छन् । इलामको फिक्कलमा आयोजित पार्टीको सभामा सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

‘२०८४ सालमा हुने निर्वाचनमा हामीलाई भोट दिएर हेर्नुस्, हामीले अवसर पाएर पनि गर्न सकेनौं भने त्यसपछि आफ्नो ठाउँलाई बरु घन्टी निषेधित घोषणा गरिदिनुभए हुन्छ,’ उनले भने, ‘भोट बदलियो भने मात्रै देश बदलिन्छ, संसारको चलन यही छ। भोट बदलिएन भने देश कहिल्यै बदलिँदैन।’

अहिले चर्चामा रहेका ललिता निवास, नक्कली भुटानी शरणार्थी र सुन काण्डको सबै फाइल खुल्ने हो भने देशमा सीमित नेतामात्र ‘चोखो’ रहने समेत उनले बताए । उनले आफूहरूलाई नेतृत्वको अवसर दिए कम्तीमा यी तीन काण्डको जरैसम्म खोतलिदिने दाबी गरे ।

इलामको फिक्कलमा आयोजित पार्टीको सभामा सभापति लामिछानेले मुख्यगरी यी तीन काण्डको फाइल पेज १ देखि अन्तिमसम्मै खोल्ने हो भने औंलामा गन्न सकिने नेतामात्र रहेर अरू सबै जेल जाने अवस्था रहेको बताए। ‘नेपालको एयरपोर्टमा तस्करहरूलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोलिदिनेको विरोध गर्नुस्,’ उनले भने, ‘एक पटक होइन, दुई पटक होइन, पटक–पटक यो घटना भएको हामीले हेर्‍यो।’