कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने सोमबार (भदौ ४) गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

भदौ ३ मा विश्वासको मत लिनेगरी ‍मुख्यमन्त्री थापाले शुक्रबार नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए।

सभामुखको भूमिका निर्वाह गरिरहेकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा पेस गर्ने गरी तोकेकी हुन्।

थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए।

त्यतिबेला थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्चले उनको मुख्यमन्त्री नियक्ति बदर गरिदिएको थियो।

पछी सभामुख गौतमलाई राजीनामा गराएर पुनः थापा मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।सोहीअनुसार मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिन लागेका हुन्।