बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको हनुमान प्रवचन सुन्न हजारौं ओइरिएपछि…

काठमाडौं । बहुचर्चित बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीको हनुमान प्रवचन सुन्न शाश्वत धाममा हजारौंको ओइरो लागेको छ । पाण्डालभित्र प्रवेश सम्भव नभएकाहरूलाई बाहिरबाट सुन्न सकिने व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।

भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक तथा धार्मिक प्रवचक धीरेन्द्रकृष्ण शास्त्री नेपालको गण्डकी प्रदेशस्थित नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ‘हनुमान कथा वाचन’ का लागि शनिबारै यहाँ आइपुगेका हुन् ।

उनी चौधरी गुप्रका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणमा आएका हुन् । काठमाडौंमा सांसद विनोद चौधरी, सारिका चौधरीसहित शास्त्री चितवन उत्रिएका थिए ।

नेपालको अग्रणी औद्योगिक तथा व्यापारिक घराना चौधरी गुप्रले व्यवस्थापन गरेको शाश्वत धाम सोही उद्योग ग्रामभित्र रहेको छ । यहाँ सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने उल्लासमय वातावरणमा धार्मिक पर्यटनको मेला लागेको छ ।

व्यवस्थापन पक्षका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा श्रवण गरेका छन् । प्रत्यक्ष उपस्थित हुन नसक्नेका लागि सामाजिक सञ्जाल र डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइएको छ ।

भदौ ४ गतेसम्म तीन दिन चल्ने कथा श्रवण गर्नका लागि देशका विभिन्न जिल्लाबाट उपस्थित भएका छन् । यो कार्यक्रममा जिल्लाको धार्मिक पर्यटन विकासमा समेत टेवा पुगेको यहाँका स्थानीले बताएका छन् ।