सुन प्रकरणका सिआइबीले अनुसन्धान गरिरहेको छ, सिआइबीले नै टुंगोमा पुर्‍याउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नै अनुसन्धान गरिरहेकोले उसैले टुंगोमा पुर्‍याउने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले बोलाएको ७ दलको बैठकमा सहभागी भई बाहिरिने क्रममा पत्रकारहरूसँग सिंहदरबारमा आइतबार बोल्दै गृहमन्त्री श्रेष्ठले सुन प्रकरण सिआइबीले नै टुंगोमा पुर्‍याउने बताएका हुन्।

‘सुन प्रकरणका सन्दर्भमा सिआइबीले अनुसन्धान गरिरहेको छ, सिआइबीले नै यसलाई टुंगोमा पुर्‍याउँछ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘मैले यसअघि सदनमै बोलेको थिएँ-यो संगठित अपराधसम्बन्धी अभियोजन समय ६० दिनको हुन्छ। राष्ट्रिय अनुसन्धानले २० दिन गुजार्‍यो। ५ दिन सरकारी वकिल कार्यालयले नै लगाउँछ, सिआइबीसँग ३५ दिन समय थियो, कति दिन लगाउँछ भनेको हो। सिआइबीले नै सुन प्रकरण टुंगोमा पुर्‍याउँछ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै गत साउन १० गतेदेखि संसद बैठक अवरोध गरिरहेको छ।