काठमाडौँ । आज कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
तत्कालीन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् ।
तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरूले बताउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्दा विश्वासको मत लिने विषय अन्योलमा पर्न सक्ने सत्ता गठबन्धनको आँकलन छ ।
बैठक अघि नै नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप सङ्कटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुनेछन् ।
उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः सङ्कटमा परेको हो ।
यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तिलाई मान्यता दिएको थिएन ।
Add Comment