भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई एसएसपीको सरुवा किन गरियो ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखलाई जिम्मेवारीबाट हटाईएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाईएको हो ।

केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो । हाल जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो ।

हालै उनले थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि देउवा सशंकित बनेका थिए । उनले काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी दानबहादुर कार्कीलाई भने यथावत राख्न चाहेका थिए ।

तर, सरकारले केसीको मात्र सरुवा गर्दा थप विवाद हुने भएपछि दुवै युनिटको प्रहरी प्रमुख परिवर्तन गरेको हो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।