पन्छाउन सकिएन नारायण मुग्लिन सडक खण्डको पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

काठमाडौं । नारायण मुग्लिन सडक खण्डमा पहिरो खसेको ९ घण्टासम्म पनि पहिरो पन्छाउन सकेको छैन ।

हिजो राती ८ बजेदेखि सुख्खा पहिरोबाट बन्द भएको सडकको पहिरो पन्छाउन अझै समय लाग्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै २ वटा मेसिनले लगातार पहिरो पन्छाउन लागे पनि अझै समय लाग्ने जनाएको हो ।

डिभिजन प्रमुखको नेतृत्वमा इन्जिनियर, सब इन्जिनियर, मेशिन अपरेटर, सुपरभाइजर लगायतका टोली उक्त स्थानमा अनवरत रूपमा खटिई रहेको पनि कार्यालयले सूचना मार्फत जानकारी दिएको छ ।

अहिले बिहान ५ बजे आफ्नो फेसबुक पेजमा सूचना राख्दै सडक डिभिजनले पूर्ण रूपमा पहिरो पन्छाउन अझै समय लाग्ने भएकोले सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गरी यात्रा गर्न सुझाएको छ ।