आज सर्वदलीय बैठक बस्दै, संसदको अवरोध हटाउने बारेमा छलफल हुने

काठमाडौं । अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएसँगै मंगलबार समिति बनाउने कार्यदेशबारे टुंगो लाग्ने भएको छ। यसका लागि आज सर्वदलीय बैठक आह्वान गरिएको छ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो।

बैठकमा अवैध सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरूले तयार पारेको कार्यविधिमाथि छलफल हुनेछ।

साथै संसदको अवरोध हटाउने बारेमा पनि छलफल हुनेछ।

साथै आज २ बजे बस्ने शीर्ष तीन दलका नेताहरूको बैठकले सो कार्यविधिलाई अन्तिम रूप दिने बताइएको छ।

कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद अवरोध हट्ने छ।

उच्चस्तरीय समिति केकस्तो बनाउने भन्ने विषयमा छलफल गर्न प्रमुख ३ दलका नेता सम्मिलित समिति गठन भएको छ। समितिमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन्।

उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भनी नेकपा एमालेले साउन ३० गतेदेखि निरन्तर संसद अवरोध गर्दै आएको थियो।