महानगरद्धारा डेंगी रोग नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान सुरु

काठमाडौं ।डेंगी रोग नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।

अभियान अन्तरगत वडा-वडामा ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरूले पानी जमेको ठाउँ खोजेर लार्भिसाइड छर्किनेछन् ।

आइतबार नगर प्रहरीलाई प्राविधिक सीप सिकाइएको छ ।

सुरुवात र प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सबै मिलेर मात्र डेंगी नियन्त्रण गर्न सकिने बताए ।

लार्भा नष्ट गर्न प्रयोग गरिने औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

तालिममा महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुषालले, छर्कने उपकरणको प्रयोग, यसमा राखिने पानी र औषधिको मात्रा लगायत विषयमा प्रयोगात्मक जानकारी दिएका थिए ।

महानगरले हरेक हप्ताको बुधवार बिहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ । त्यस्ता ठाउँमा सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ ।