बाल सुधार गृह तोडफोड गरेर भागेका मध्ये २४३ पक्राउ, १२ जना बालकको खोजी हुँदै

काठमाडौं । भक्तपुर बाल सुधार गृह तोडफोड गरेर भागेका १२ जना बालकको खोजी कार्य भइरहेको छ।

सोमबार बाल सुधार गृह तोडफोड गरेर भागेका २४३ बालकलाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी १२ जनालाई मंगलबार पनि प्रहरीले खोजिरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

बाल सुधार गृहमा २५५ बालक र ४३ बालिका गरी २९८ जना छन्।

भागेका बालकहरूलाई सोमबार भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

‘बाँकी १२ जनाको खोजी कार्य भइरहेको छ। नियन्त्रणमा लिइएकाहरूलाई बाल सुधार गृह पठाएका छौ’ डिएसपी पाठकले भने।

आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको रहस्यमय मृत्यु भएको भन्दै परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए।

त्यही विषयमा सोमबार पनि नाराबाजी भइरहँदा त्यहाँ बसिरहेका बालबालिका तोडफोड गरेर भागेका डिएसपी पाठकले जानकारी दिए।

‘तोडफोड हुँदा केही बालबालिका र प्रहरीसमेत घाइते भएका थिए, अहिले सबैको अवस्था सामान्य छ,’ उनले भने।

आज पनि प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा ती बालकहरूलाई खोजिरहेको बताएको छ।