नारायणगढ–मुग्लिन सडकखण्ड अपराह्न ३ बजेसम्म नखुल्ने

फाईल तस्बिर

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलले भने, “थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ ।” पाँच÷सात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उनको भनाइ छ ।

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।