कांग्रेसको पदाधिकारी बैठक जारी

फाईल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीको सांगठनिक गतिविधि र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बसेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

बैठकमा केन्द्रीय समितिको निर्णय अनुसार साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा गर्नेछ।

यसैगरी सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग अनुसार बनाउन लागेको उच्चस्तरीय छानबिन समितिको बारेमा पनि छलफल हुने बताइएको छ। उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र कस्तो हुने भन्ने विषयको मस्यौदालाई आज दिउँसो बस्ने शीर्ष नेताको बैठकले टुंग्याउने छ। शीर्ष नेताको बैठक अगाडि कांग्रेसको पदाधिकारी बैठक बसेको हो।

सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा कार्यादेश (टिओआर) तय गर्न नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ।

विमानस्थलबाट क्वीटल (पगालेपश्चात ६० किलो ७ सय १६ ग्राम) सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गरिरहेको छ। एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले पटक/पटक सारेका छन्। सरकार र दलबीच समिति बनाउन सहमति भएकाले आजबाट संसद नियमित सुचारु हुने बताइएको छ।