१८ वर्षपछि बाल्यकालको क्लब फर्किए रामोश

काठमाडौं । स्पेनका पूर्वकप्तान सर्जियो रामोश आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । क्लब छाडेर रियल मड्रिड पुगेको १८ वर्षपछि उनी आफ्नो पुरानो क्लबमा फर्किएका हुन् ।

पेरिस सेन्ट जर्मेनबाट फ्रि–ट्रान्सफरमा सेभिया पुगेका उनले क्लबसँग एक वर्षको करार गरेका छन् । ‘यो विशेष दिन हो । घर फर्किनु जहिले पनि खुसीको कुरा हो,’ रमोशले भनेका छन् । सेभिया हाल ला लिगाको पुछारमा रहेको छ । ‘क्लबका लागि चाँडोभन्दा चाँडो योगदान दिनका चाहन्छु जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भनेका छन् ।

रामोशले स्पेनसँग विश्वकपसहित दुईवटा युरोपियन च्याम्पियनसीपको उपाधि जितेका छन् । १६ वर्षको करियरमा उनले कीर्तिमानी १६० खेल खेलेका छन् । रियल मड्रिडसँग उनले ४ वटा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।

सेभिया सहरको बाहिरी क्षेत्रमा हुर्किएका रामोशले ७ वर्षको उमेरमा क्लबको एकाडेमीमा आबद्ध भएका थिए । क्लबको सिनियर टोलीका लागि ५० खेल खेलेका उनी सन् २००५ मा रियल पुगेका थिए ।

रियलमा १६ सिजन बिताएका उनले ६७१ खेल खेल्दै २२ वटा उपाधि जितेका थिए । यसमा ५ लिग उपाधि पनि सामेल छ । सन् २०२१ मा उनी पीएसजी पुगेका थिए । त्यहाँ दुई वर्ष बिताएका उनले लगातार दुईवटा लिग उपाधि हात पारेका थिए ।