डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीलाई आज काठमाडौँ ल्याइएको छ।

नेपालगन्जबाट जहाजमा आएका डा. केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो। तर, उनलाई महाराजगन्ज नलगेर ट्रमा सेन्टर लगिएको छ। प्रहरीले जबर्जस्ती उनलाई ट्रमा सेन्टरमा लगेको हो।

ट्रमा पुगेपछि प्रहरीले एम्बुलेन्सबाट जबर्जस्ती डा. केसीलाई बाहिर निकालेको थियो। केसीले भने मैले काम गरेको टिचिङमा हो, म त्यहीँ जाने हो भन्दै अड्डी कसेका थिए।

प्रहरीले भने टिचिङ अस्पतालमा कोरोना संक्रमणका बिरामी भएकोले उनलाई ट्रमा सेन्टरमा राखिएको बताएको छ।

प्रहरीले जबरजस्ती एम्बुलेन्सबाट निकालेपछि केसीले ओलीको गुन्डागर्दी तानाशाही तन्त्र मुर्दावाद भन्दै नारासमेत लगाएका थिए।