भारतको बिहारमा मदिरा पुर्‍याउन नेपालको बाटो प्रयोग, हेटौँडाबाट पाँच जना पक्राउ

काठमाडौं । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित छ । जसकारण भारतका अन्य राज्यबाट बिहारमा मदिरा ओसारपसार गर्न प्रहरी सुरक्षा कडा हुने भएपछि तस्करहरूले नेपालको बाटो प्रयोग गर्ने गरेको खुलासा भएको छ ।

भारतसँग सीमा जोडिएको नवलपरासीबाट दुईवटा कारमा फल्सबटम बनाई मदिरा वीरगञ्ज नाका कटाउने भारतीय तस्करहरूको योजना मकवानपुर प्रहरीले असफल पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नम्बर प्लेटको दुईवटा कारमा ‘रोयल ग्रिन’ नामक मदिरासहित पाँच जना भारतीय नागरिक नियन्त्रणमा लिएपछि बिहारमा मदिरा पुर्‍याउन नेपालको बाटो प्रयोग भइरहेको रहस्य बाहिरिएको हो ।

भन्सार छली ल्याएको ३ सय ७५ एमएल र १ सय ८० एमएल भएको ८ सय ५५ बोतल ‘रोयल ग्रिन’ मदिरासहित पाँच जनालाई प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चौकीबाट पक्राउ गरेको हो । भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु पक्राउ परेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

‘असोज ५ र ६ गते हेटौँडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका मदिरा ३ सय ७५ एमएलका ७ सय १५ बोतल र १ सय ८० एमएलका १ सय ४० बोतल बरामद भएको हो’, एसपी रिजालले भने, ‘यो मदिरा भारतबाट आएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’ रिजालले भारतको बिहारमा मदिरा प्रतिबन्ध रहेको र बिहारमा मदिरा बिक्री गर्ने गिरोहले नेपालको बाटो प्रयोग गरेको बताए ।

उनकाअनुसार मदिरा तस्करहरूले यसअघि दुई पटकसम्म मदिरा नेपालको बाटो हुँदै बिहार पुर्‍याएको सूचना हाल प्राप्त भएको छ । ‘पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि नै दुईपटक मदिरा लगिसकेको सूचना पाएका छौँ ’, एसपी रिजालले भने । मकवानपुर प्रहरीले पक्राउ परेका पाँच जना भारतीय नागरिकसहित बरामद कार र मदिरा आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भारतको हरियाणाबाट उत्पादित उक्त मदिरा नवलपरासीको नाकाबाट नेपाल भित्रिएको प्रहरीको भनाइ छ । मदिरामा हरियाणाका लागि मात्रै प्रयोग गर्न मिल्ने ट्यागसमेत लगाइएको छ । ३ सय ५० एमएलको मदिराको भारतीय मूल्य २ सय ४० रुपैयाँ र १ सय ८० एमएलको मदिरा प्रति बोत्तल १ सय ३० रुपैयाँ पर्ने जनाइएको छ ।