घर बनाउने क्रममा ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु

काठमाडौ. । गुल्मीमा घर बनाउने क्रममा ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ।

रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घर माथिबाट पहिरो खस्दा निर्माण मजदुर प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

यस्तै, पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान गौमुखी गाउँपालिका वडा नम्बर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शवलाई पोष्टमर्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमर्टमपश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

घाइतेहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।