दुबई पठाइदिन्छु भन्दै ३ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै तीन लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

अर्धखाँची भूमिकास्थान नगरपालिका वडा- ५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय अशोक भट्टराई पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

उनीविरूद्ध अजयकुमार महतोले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागबाट अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।