च्याम्पियन्स लिग फुटबल : रियल म्याड्रिड र बायर्न विजयी

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएका समूहगत चरणका खेलमा पूर्व विजेताहरु रियल म्याड्रिड र बायर्न म्युनिख विजयी भएका छन्।

दुई इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल भने पराजित भए। नापोलीको मैदानमा उत्रिएको रियल म्याड्रिड ३-२ गोलले विजयी भयो। रियलका लागि भिनिसियस जुनियर र जुड बेलिङ्घमले गोल गरे। एक गोल आत्मघाती भएको थियो। खेललाई २-२ गोलको बराबरीमा ल्याएको अवस्थामा नापोलीका गोलकिपर एलेक्स मेरेतबाट ७८ औँ मिनेटमा आत्मघाती गोल भएको हो।

समूहमा रियलको २ खेलबाट ६ अंक भएको छ। नापोलीको ३ अंक छ। एफसी कोपेनहेगनको मैदानमा उत्रिएको बायर्न २-१ गोलले विजयी भयो। बायर्नका जमाल मुसियाला र मेथिस तेलले गोल गरे। कोपेनहेगनले ५६ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएपनि बायर्न खेलमा फर्किएको थियो।

२ खेलबाट ६ अंक भएको बायर्न समूहको शीर्षस्थानमा छ। सोही समूहको अर्को खेलमा म्यान युनाइटेडलाई ३-२ गोलले हराएको गलासतारे ४ अंकसहित दोस्रोमा रहेको छ। म्यान युनाइटेडले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन सकेन। म्यान युनाइटेडले प्रतियोगितामा लगातार दोस्रो हार ब्यहोरेको हो।

मंगलबार राति भएको अर्को खेलमा अर्को इङ्लिस क्लब आर्सनल पनि लेन्ससँग पराजित भयो। लेन्सले आर्सनललाई २-१ गोलले हरायो।