चितुवाको छाला र छ किलोबढी चरेससहित तीन जना पक्राउ

काठमाडौं । चितुवाको छाला र चरेससहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

चितुवाको छालासहित पक्राउ पर्नेमा मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवल्दार करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र  बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन् । उनीहरूको साथबाट ६ किलो सात सय ४० ग्राम चरेस पनि बरामद गरिएको छ ।

प्रहरीले बरामद गरेको चितुवाको छालाको उचाइ ७ फिट छ इन्च रहेको छ भने चौडाइ १ फिट १० इन्च रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।