काठमाडौं । दसैं अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारी साधनका चालकले लागूपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ।
चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रक चालक भए पनि दुई जना भने दसैंका यात्रु बोक्ने बसका चालक रहेका छन्।
विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौंको नागढुंगामा लापसे गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार ना७ख ५३२ नम्बरका ट्रकचालक धादिङको थाक्रे गाउँपालिका–२ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बसचालक काठमाडौंको तारकेश्वर नगरपालिका–१ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश३०१००६ख २५४६ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३१ वर्षीय रामकुमार गौतम र ना६ख ९६९३ नम्बरका बसचालक कैलालीको धनगढी उपमहानगर–१ का ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए। आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागे र यात्राका क्रममा कुनै समस्या परे यात्रुले तत्काल नजिकैको यात्रु सहायता कक्ष, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नं १०३ र प्रहरीको हटलाइन नं १०० मा खबर गर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
विजयादशमी, शुभ दीपावली र छठपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष जाँच अभियान चलाइरहेको छ।
चाडपर्व मनाउन उपत्यकाबाहिर जाने यात्रुको सुरक्षा, सहज आउजा, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकामा मापसे, लापसेलगायत अन्य विशेष सवारीसाधन तथा चालकमाथि ट्राफिक प्रहरीले जाँच गर्दै आएको छ।
चाडपर्वको मौका छोपी सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याई बाटोमै अलपत्र पार्नेजस्ता कार्यको अनुगमनका लागि सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको भट्टले बताए।
प्रहरीले काठमाडौं उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्षमार्फत यात्रुलाई परेका विभिन्न समस्या समाधानसमेत गरिँदै आएको प्रवक्ता भट्टले जानकारी दिए।
Add Comment