अवैध माध्यमद्धारा टिकटिक नचलाउन साइबर ब्युरोको आग्रह

काठमाडौँ । साइबर ब्युरोले भिपिएन जस्ता अवैध माध्यमद्वारा टिकटकको प्रयोग नगर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आज विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा प्रयोग बन्द गरिएको टिकटक, भिपिएन, र डिएनएस जस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालनमा भएको सूचना प्राप्त भएको भन्दै टिकटक प्रयोग बन्द गर्न अनुरोध गरेको हो ।

अवैध माध्यमद्वारा टिकटकको प्रयोगले प्रयोगकर्ताको महत्वपूर्ण डाटा, व्यक्तिगत तथा बैङ्किङ विवरणहरूमा पहुँच पुर्‍याई आर्थिक दुरुपयोग र साइबर सुरक्षाका घटना समेत बढिरहेको ब्युरोले जनाएको छ ।

साथै गैर कानुनी सामग्री, चरित्रहत्या, सार्वजनिक नैतिकता, जातीय–भाषिक, तथा धार्मिक सद्भाव भड्काउने किसिमका गतिविधिहरू टिकटकमा पाइएकोले प्रविधिको दुरुपयोग नगर्न नगराउन पनि ब्युरोले अनुरोध गरेको छ ।