कोप-२८ औं संस्करणमा योद्धाका रुपमा प्रस्तुत हुने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा योद्धाका रूपमा प्रस्तुत हुने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कट आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्ति दाबी गरिने जानकारी दिनुभयो।

प्रधानमन्त्रीले मङ्सिर १४ गतेदेखि २६ गतेसम्म सयुक्त अरब इमिरेट्स (युएई) मा हुने सम्मेलनमा आफू देशको नेतृत्व गरेर सहभागी हुने बताउनुभयो । “हामी कोप–२८ को तयारी अवस्थामा छौँ । हामी कोपमा प्रस्तुत हुँदा दुःख पायौँ । क्षतिपूर्ति चाहियो भनेर माग्नेका रूपमा प्रस्तुत हुँदैनौँ,” उहाँले भन्नुभयो, “हामी कोपमा आफ्नो अधिकार स्थापित गर्न जाने हो । हामी प्रश्न गर्छौं, हामीले नगरेको गल्तीको दण्ड भोग्नुपर्ने बाध्यता किन आयो यसको मुख्य जिम्मेवार को हो ?”

जलवायु परिवर्तनले नेपाल जस्ता मुलुकमा प्रतिवर्ष ०।३ देखि १ प्रतिशतका दरले हिमाल पग्लिइरहेको वातावरणविद्हरूले उल्लेख गर्ने गरेकाले यो चिन्ताको विषय भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरूले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपूरणीय पर्यावरणीय क्षति रोक्न क्लाइमेट फाइनान्स कोषको स्थापना गरे पनि क्षतिपूर्ति उपलब्ध नगराएको गुनासो गर्नुभयो ।

उहाँले नेपाल अल्पविकसित मुलुको अध्यक्ष भएकाले आफ्नो अधिकार स्थापित गर्न सङ्घर्ष गरिने उल्लेख गर्नुभयो । “हामी यसै पनि अल्पविकसित मुलुकको अध्यक्ष हौँ । हामीले ४७ देशको प्रतिनिधित्व गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “हामीले अधिकार स्थापित गर्ने सङ्घर्षका रूपमा प्रस्तुत हुने छौँ । कोपमा जाने सम्पूर्ण टिम तयारी अवस्थामा छ ।”

विश्वका आठ अर्ब मानिसको साझा पृथ्वी भएको बताउँदै प्रधानमन्त्रीले पर्यावरण र जलवायु परिवर्तनले विश्वभर निम्त्याएको सङ्कट समाधान गर्न माक्र्सवादी वैचारिकीबाट निकास खोज्नुपर्ने उल्लेख गर्नुभयो । अहिले जलवायु परिवर्तनका विषयमा एजेन्डा बनाएर बहस गर्ने माओवादी पार्टी पहिलो भएको उहाँले दाबी गर्नुभयो ।

यसै सन्दर्भमा बोल्दै प्रधानामन्त्रीले एकथरी मान्छेहरू जातीय र धार्मिक साम्प्रदायिकता फैलाउन लागिपरेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने माक्र्सवादी विचार बोक्ने आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।

“अहिले एकथरी मानिस जातीय रूपले पनि साम्प्रदायिकता फैलाउने, धार्मिक रूपले पनि धार्मिक अतिवादी र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव पनि खलबल पार्ने प्रयासमा लागेको देखिन्छ,” उहाँले भन्नुभयो, “आखिरमा राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने भनेको माक्र्सवादीले नै हो । आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गर्नु पर्छ ।”

यस्तै शनिबार प्रधानमन्त्री प्रचण्डले खुसीराम पाख्रिनको छैठौँ स्मृति दिवसका उपलक्ष्यमा ‘खुसीराम पाख्रिन स्मृतिग्रन्थ’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँ प्रगतिशील साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाएको उल्लेख गर्नुभयो । उहाँले खुसीराम पाख्रिन सिद्धान्तनिष्ठा, उद्देश्यप्रति समर्पित निरन्तर क्रान्ति र आन्दोलनमा लगाव राख्न सरल र सहज व्यक्ति चर्चा गर्नुभयो ।

प्रधानमन्त्रीले आफूले सबभन्दा बढी जनयुद्धको बेला रोल्पाको बुर्तीबाङ र रोल्पाको डाँडागाउँमा बसेको सम्झने गरेको स्मरण गर्नुभयो । खुसीराम गायक मात्रै नभएर सांस्कृतिक क्षेत्रको कमान्डरका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो ।

प्रकाश दाहालको हृदयघातका कारण निधन भएपछि चितवनमा आयोजित कार्यक्रममा खुसिरामसमेत हृदयघातबाट निधन हुँदा दुःखमाथि दुःख थपिएको उतिबेलाको स्मरण गर्नुभयो ।

ताजा अपडेट