कोप २८ औँ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड दुबई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ । स्थानीय समयानुसार उहाँ गए राति करिब १ः३० बजे दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीस्थित नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।

यस सम्मेलनमा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानि तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।

यसैगरी सम्मेलनमा लैङ्गिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ ।