बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर लागेको पुष्टि भएको छ । बकिङ्‍घम दरबारले राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर रोग लागेको र उपचारका लागि सार्वजनिक जिम्मेवारीबाट अलग रहने जानकारी दिएको छ ।

सन् २०२२ को सेप्टेम्बरमा रानी एलिजाबेथको निधनपछि पचहत्तर वर्षीय चार्ल्स बेलायतको राजा भएका हुन् । राजदरबारले उनको उपचार सुरु भइसकेको जनाउँदै छिट्टै जिम्मेवारीमा फर्किने विश्वास व्यक्त गरेको छ । जनवरी २६ मा प्रोस्टेटको शल्यक्रिया गर्ने क्रममा राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेको हो । तर उनलाई प्रोस्टेट क्यान्सर भने नभएको राजदरबारले जनाएको छ।

प्रोस्टेडको उपचारपछि राजा चार्ल्स गत आइतबार श्रीमती कामिलासहित गिर्जाघरमा प्रार्थनाका लागि पहिलो पटक देखा परेका थिए ।

अमेरिकामा बस्दै आएका उनका कान्छा छोरा ह्यारी आफ्ना बाबुलाई भेट्न बेलायत जाँदै छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनाकले पनि राजाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छिट्टै जिम्मेवारीमा फर्किने आशा राखेका छन् । चार्ल्स राष्ट्र प्रमुख रहेका अस्ट्रेलिया र क्यानडाका सरकारले पनि उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चार्ल्सलाई क्यान्सर लागेको समाचारले आफूलाई चिन्तित बनाएको भन्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।